Shankharapur Khabar

अस्पताल व्यवस्थापन र ट्रस्टको विवादले अस्पताल ठप्प

सुष्मा कोइराला मेमोरियल हस्पिटलको कर्मचारीहरु लगायत हस्पिटलको व्यवस्थापन र सुष्मा कोइराला मेमोरियल ट्रष्ट बिच विविध पक्षमा सहमति जुट्न नसक्दा विगत २४ दिन देखि हस्पिटलको दैनिक प्रशासनिक एवं उपचार सम्बन्धी सेवाहरु प्रभावित भइरहेको छ भने हस्पिटलमा बिरामीहरुको नयाँ भर्ना पनि भइरहेको छैन।

सुष्मा कोइराला ट्रष्टले यस हस्पिटलमा गरेको अनाधिकृत नियुक्ती, गुण्डागर्दी, एकलौटी तानासाह तथा हुकुमी प्रवृति, नितिगत भष्टचार, कर्मचारी नियमावली विपरित गरेको काम कार्वाही तथा अस्पतालको आम्दानीको दुरुपयोग भएको सुष्मा कोइराला मेमोरियल अस्पताल कर्मचारी संघर्ष समितिको आरोप रहेको छ र यिनै विषयलाई लिएर आन्दोलनको घोषणा गरेको थियो र जुन हाल सम्म पनि जारी नै छ। शुष्मा कोइराला मेमोरियल अस्पताल कर्मचारी संघर्ष समितिको तर्फबाट यस किसिमको प्रेस विज्ञप्ति प्रकासित गरिएको छ।

प्रेस विज्ञप्ति

शुष्मा कोइराला मेमोरियल अस्पताल कर्मचारी संघर्ष समितिको तर्फबाट:
मिति: २०८२/०८/२८
विगत ३२ दिनदेखि शुष्मा कोइराला मेमोरियल ट्रस्टको शुष्मा कोइराला मेमोरियल अस्पतालमाथि गम्भीर प्रशासनिक संकट, ठाडो हस्तक्षेप तथा मनपरी तन्त्र, कर्मचारीमाथि बढ्दो दबाब, कर्मचारीहरूको असुरक्षा, ट्रस्टका कर्मचारीहरूको गुन्डागर्दी, एकलौटी तथा नियम विपरीत निर्णयहरूका विरुद्ध शुष्मा कोइराला मेमोरियल अस्पतालका कर्मचारीहरू बाध्य भएर शान्तिपूर्ण सङ्घर्षमा उत्रिनुपरेको विषयमा यो प्रेस विज्ञप्ति जारी गरिएको छ।
अस्पताल कर्मचारीहरूको पटक पटकको ध्यानाकर्षण, वार्ता प्रयास, तथ्यगत प्रमाण र मागहरूलाई ट्रस्ट व्यवस्थापनले बेवास्ता गर्दै हुकुमी र तानाशाही शैलीमा निरन्तर गैरकानुनी गतिविधि सञ्चालन गर्दै आएको छ। अस्पतालको सुरक्षादेखि लिएर वित्तीय अनुशासन, प्रशासनिक प्रक्रिया र कर्मचारी अधिकारसम्ममा गरिएको अतिक्रमण तथा गुन्डागर्दीले अस्पतालको दीर्घकालीन अस्तित्व र सेवाप्रवाह नै सङ्कटमा पारिएको छ।
कर्मचारी सङ्घर्ष समितिले ५ दिने अल्टिमेटमसहित ट्रस्टलाई मागहरू सम्बोधन गर्न औपचारिक पत्र बुझाएको थियो। तर, समयावधि पूर्ण रूपमा सकिँदा पनि ट्रस्टले वार्ताका लागि तयारी देखाएन, कुनै ठोस कदम चालेन, र ट्रस्टबाट अस्पतालमा भएको अव्यवस्था तथा अन्यायपूर्ण व्यवहारबारे कुनै जवाफसमेत दिएन। यसको उल्टो, बरु यस अस्पतालका कर्मचारीहरूलाई कारबाहीका लागि स्पष्टीकरण आउने क्रम जारी राख्यो। यस कार्यले अस्पताल कर्मचारीहरूमा गम्भीर निराशा, असुरक्षा र आक्रोश पैदा भएको छ।
अस्पतालको वातावरण भयपूर्ण, कर्मचारीहरू काम गर्न नसक्ने अवस्थामा
ट्रस्टबाट अनधिकृत रूपमा नियुक्त गरिएको ED (Executive Director) र CEO (Chief Executive Officer) ले बाहिरी गुन्डा परिचालन गरी कर्मचारीलाई धम्की दिने, कुटपिट गर्ने र अस्पताल परिसरमा आतङ्क सिर्जना गर्नेजस्ता कार्यहरू गराएको प्रमाणित भइसकेको छ।
अहिले अस्पतालभित्रको वातावरण तनावग्रस्त, असुरक्षित र दबाबपूर्ण बनेको छ, जसका कारण कर्मचारीहरूलाई सामान्य रूपमा ड्युटी गर्नसमेत कठिनाइ परेको छ। यस्तो भयावह अवस्थाको पूर्ण जिम्मेवारी ट्रस्टको गैरजिम्मेवार र गैरकानुनी निर्णयहरूमा जान्छ।

कर्मचारीका मागहरू (औपचारिक रूपमै प्रस्तुत)

  1. ट्रस्टको अध्यक्षको ठाडो आदेशबाट अनाधिकृत रूपमा नियुक्त गरिएका ED सृष्टि कोइराला र CEO दिपेन्द्र सिंह साउदको नियुक्ति तुरुन्त खारेज गर।
  2. यिनै व्यक्तिहरूले बाहिरी गुन्डा प्रयोग गरी कर्मचारीमाथि कुटपिट, थर्काउने र धम्की दिएको हुँदा कानुन बमोजिम कडा कारबाही गर।
  3. यस्ता व्यक्तिहरूलाई अस्पताल मात्र नभई ट्रस्टको कुनै पनि पदमा बस्न नदिने व्यवस्था गर।
  4. आर्थिक पारदर्शिताका लागि स्वास्थ्य मन्त्रालयबाट यस अस्पतालको लागि भनी ट्रस्टको खातामा विगतमा आएका दशौं करोड अनुदानहरूको विवरण सार्वजनिक सहित खर्चहरूको पारदर्शिता प्रस्तुत गर।
  5. यस अस्पतालमा नियुक्ति लिएका कर्मचारीहरूले परीक्षणकाल पूरा भएपछि स्वतः स्थायी हुने व्यवस्था गरी लागू गर।
  6. वार्षिक तलब वृद्धि सुनिश्चित गर।
  7. कर्मचारीहरूले विगतमा पाउँदै आएको औषधि खर्च काटिएको हुनाले पुनः सो वार्षिक पाउने रु. ३५,००० बराबरको औषधि खर्च सुविधा लागू गर।
  8. ट्रस्टले नर्सिङ क्याम्पसको नाममा अस्पताल खाताबाट लिएको रु. ९८ लाख तुरुन्त फिर्ता गर।
  9. अस्पतालका सम्पूर्ण निर्णय IMC (Internal Management Committee) र HMC (Hospital Management Committee) संरचना अनुसार सञ्चालन गर।
  10. IMC र HMC मा कर्मचारी प्रतिनिधि कम्तीमा २-२ जना समावेश गर।
  11. नियम विपरीत नियुक्त गरिएका Director for Medical & Academic Affairs र Deputy Director को नियुक्ति/पदोन्नति तुरुन्त रद्द गर।
  12. अनियमित नियुक्तिमा भएको यदि कुनै भुक्तानी छ भने फिर्ता गर्न।
  13. ट्रस्टको हुकुमी प्रवृत्ति अन्त्य गर्न तथा आर्थिक अनियमितता अन्त्य गर्न अस्पतालको बैंक खाता IMC-HMC को निर्णयअनुसार अस्पतालका कर्मचारीबाट नै सञ्चालन हुने व्यवस्था गर।
  14. सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुअघि कर्मचारीले पाउनु पर्ने उपदान रकम तुरुन्त भुक्तानी गर्न।
  15. भविष्यमा पनि ट्रस्टबाट हुन सक्ने गुन्डागर्दी रोक्न र प्रशासनिक पारदर्शिता सुनिश्चित गर्न अस्पताल IMC-HMC बाट सञ्चालन हुने गरी नियमावली संशोधन गर।
  16. ट्रस्टतर्फबाट कर्मचारीलाई आएको धम्कीबारे स्वतन्त्र छानबिन गरी कानुनी कारबाही गर।
  17. Interplast Germany Foundation विरुद्ध लगाइएको झूटो आरोप फिर्ता लिएर सार्वजनिक माफी माग।
  18. नातावाद र कृपावादबाट सञ्चालनमा रहेको शुष्मा कोइराला मेमोरियल ट्रस्टलाई पारदर्शी रूपमा सञ्चालन हुने गरी, सम्बन्धित सार्वजनिक निकायहरूको प्रतिनिधित्व हुने गरी ट्रस्टको बोर्ड कमिटीको गठन गर। आफ्नो बुहारीलाई तलब खुवाउन कहिले अध्यक्ष त कहिले ED (Executive Director) बनाउने खेल बन्द गर।
  19. यी मागहरू पूरा नभएसम्म ट्रस्ट वा अस्पताल प्रशासनले अस्पताल वा आन्दोलनलाई असर पर्ने कुनै ठोस निर्णय, कर्मचारीहरूको: नियुक्ति, पदोन्नति, बर्खास्त वा अन्य आदेशहरू जारी नगर। आन्दोलन वा अस्पताललाई प्रभाव पार्ने निर्णय मान्न शुष्मा कोइराला मेमोरियल अस्पताल कर्मचारी संघर्ष समिति बाध्य हुने छैन।

हाम्रो उद्देश्य: नियमको रक्षा, पारदर्शिता र अस्पताललाई बचाउनु हो, राजनीतिकरण होइन
यो आन्दोलन कुनै राजनीतिक उद्देश्यमा आधारित होइन। यो अस्पतालको अस्तित्व, सेवाको गुणस्तर, कर्मचारीको सुरक्षा, नियमको रक्षा, नैतिकता र पारदर्शिता जोगाउन प्रारम्भ गरिएको सङ्घर्ष हो।
कर्मचारीको प्रतिबद्धताले अस्पतालको सेवा–प्रवाह रोकिँदैन। बिरामीलाई कुनै असुविधा नहोस् भन्ने हाम्रो पहिलो प्राथमिकता हो। तर ट्रस्टको तानाशाही, दबाब र गैर–कानुनी गतिविधि अब सहन गरिनेछैन।
ट्रस्टले मागहरू सम्बोधन गर्न अब पनि पहल नगरेमा, कर्मचारी सङ्घर्ष समिति बाध्य भएर आन्दोलनका थप शक्तिशाली कार्यक्रम घोषणा गर्न अग्रसर हुनेछ, जसको जवाफदेही शुष्मा कोइराला मेमोरियल ट्रस्ट आफैँ हुनेछ।

शुष्मा कोइराला मेमोरियल अस्पताल कर्मचारी संघर्ष समिति
शङ्करापुर–६, साँखु, काठमाडौँ

 

By admin

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.